स्वास्थ्य

बेदकोट नगरपालिकाले ५० शैयाको अस्पताल बनाउने

  आइतवार बैशाख ३० २०७५         रवीन्द्र राज ओझा
बेदकोट नगरपालिकाले ५० शैयाको अस्पताल बनाउने

कञ्चनपुर, 30 वैशाख । कञ्चनपुरको बेदकोट नगरपालिकामा नगर अस्पताल बनाउन सुरु गरिएको छ । बेदकोटको दैजी बजारमा बन्ने ५० शैय्याको नगर अस्पतालका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउन थालिएको हो । अस्पतालका लागि चालु आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरिएको छ ।

बेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले परामर्शदाता नियुक्त गरी नगर अस्पतालको डिपिआर बनाउन सुरु गरिएको बताए । ‘दैजी बजारमा राजमार्गसित जोडिएको जमिनमा नगर अस्पताल बनाउन डिपिर बनाउन सुरु गरिएको छ’ नगर प्रमुख चन्दले भने, ‘डिपिरआर बनेपछि बजेट जुटाएर अस्पताल निर्माणको काम अघि बढ्छ ।’

स्थानीय तहलाई १५ शैय्यासम्मको नगर अस्पताल सञ्चालनको अधिकार दिइएको छ । बेदकोट नगरपालिकाले भविष्यमा ट्रमा सेन्टर बनाउने लक्ष्य सहित ५० शैय्याको नगर अस्पताल बनाउन लागेको हो । ‘स्थानीय तहले १५ शैय्यासम्म अस्पताल सञ्चालन गर्न पाउँछ’ नगर प्रमुख चन्दले भने, ‘ट्रमा सेन्टरसम्मको महत्वकाँक्षी लक्ष्य राखेर ५० शैय्याको बनाउन लागेका छौ ।’

नगरपालिकाको पहिलो नगर सभाबाट नगर अस्पतालका लागि ५० लाख विनियोजन गरिएको थियो । त्यहीं बजेटबाट १७ लाखमा डिपिआर र बाँकीबाट अस्पताल निर्माण स्थलमा घेरबार र पर्खाल निर्माण गरिनेछ । ‘यो वर्ष यी दुई काम गर्छौ’ नगर प्रमुख चन्दले भने, ‘केन्द्र र प्रदेश सरकारसित पनि बजेट मागे गरेका छौ त्यसबाट अन्य काम सुरु गर्छौ ।’

बेदकोटले अस्पताल निर्माणका लागि प्रदेश सरकारसित बजेट माग गरेको छ । प्रदेश ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहरालाई कार्यपालिकाको बेदकोट ताल बैठकमा आमन्त्रण गरी २० करोड बजेट माग गरिएको थियो । मन्त्री बोहराले आगामी आर्थिक वर्षको बजेटमा नगर अस्पतालका लागि बजेट विनियोजन गर्ने आश्वासन दिएका थिए ।

नगर प्रमुख चन्दले अस्पताल सञ्चालनका लागि प्रदेश र संघीय दुबै सरकारसित बजेट माग गरिएको जानकारी दिए । ‘स्थानीय स्तरबाट अस्पताल चलाउन त्यति सजिलो छैन, यसका लागि प्रदेश र संघीय सरकारको सहयोग आवश्यक छ’ नगर प्रमुख चन्दले भने । अस्पतालको डिपिआर जेठ ५ गतेभित्र तयार हुने सम्झौता गरिएको छ । डिपिआर बनेपछि नगरपालिकाले अस्पताल निर्माणका लागि चाहिने बजेट जुटाउन योजना बनाएर जानेछ ।

दैजी बजारको पूर्वपट्टि राजमार्ग किनारको तीन हेक्टरमा अस्पताल बनाउन लागिएको छ । दैजी जोगबुडा सडक, छेला औद्योगिक क्षेत्र र साविक सुडा र दैजी दुबै गाविसका वासिन्दालाई पायक पर्ने भएकाले जमिन छनौट गरिएको हो । यो जमिन अहिले सामुदायिक वनको स्वामित्वमा छ । बेदकोट नगरपालिकामा अहिले सुडा र दैजी स्वास्थ्य चौकी सहित वडा नम्बर ५ धरमपुरमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा छन् ।

रवीन्द्र राज ओझा

महेन्द्रनगर सम्बादाता
To Top