स्वास्थ्य

स्वास्थ्य चौकीमा पानी अभाव

  सोमवार बैशाख २४ २०७५         Sangita Khadka
स्वास्थ्य चौकीमा पानी अभाव

रसुवा- नौकुण्ड गाउँपालिका ३ मा रहेको पारच्याङ स्वास्थ्य चौकीमा पानीको समस्या भएको छ। विगत ६ महिनादेखि स्वास्थ्य चौकीको धारामा पानी आएको छैन। हरेक दिन बिरामीको चाप बढ्ने पारच्याङ स्वास्थ्य चौकीमा पानीको अभावले सेवा प्रवाहमा समस्या आएको अनमी देवी गजुरेलले बताइन्। उनले भनिन्, ‘धारामा पानी आउन छोडेको ६ महिना भयो। हरेक बिरामीको स्वास्थ्य परीक्षण तथा अन्य वस्तु छोएमा राम्रोसँग हात धुनुपर्छ। बिरामी आए भने एक चक्की औषधि खान पानी दिनुपर्ने हुन्छ। सबैभन्दा समस्या डेलिभरी केसमा हुने गरेको छ। तर, पानी नहुँदा निकै कठिनाइ भोग्नुपरिरहेको छ।’

पानीको अभावले सुत्केरी गराउन समस्या हुने गरेको गजुरेलले बताइन्। उनी भन्छिन्, ‘डेलिभरी गराउनका लागि सामग्रीलाई उमालेर मात्रै प्रयोग गर्नुपर्ने हुन्छ, यी सामग्री पकाउन धेरै पानी आवश्यक पर्छ, तर पर्याप्त पानी नै हुँदैन।’ पानी लिन जाँदा बिहान बित्छ स्वास्थ्य चौकीको धारामा पानी नआउँदा बिहान पानी ओसार्नमै बित्ने गरेको पारच्याङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरु बताउँछन्। धारामा एक घन्टा मात्र पानी आइदिए पर्याप्त हुने भए पनि धारामा पानी नआउँदा १० मिनेट हिँडेर पानी ओसार्नुपर्ने बाध्यता छ। अनमी गजुरेलले भनिन्, ‘पानी त जसरी पनि चाहिहाल्छ, दिनभरिलाई पुग्ने पानी ल्याउँदा बिहान बित्छ। हरेक दिनको बिहान पानी ओसार्दैमा जान्छ।’

गत पुसदेखि स्वास्थ्य चौकीमा ल्याब सञ्चालन गरिएको छ। ल्याबमा एउटा टेस्ट गर्न कम्तिमा एक लिटर पानी आवश्यक पर्ने गजुरेलको भनाइ छ। ल्याब र बर्थिङ सेन्टर समेत रहेको स्वास्थ्य चौकीको धारामा पानी ल्याउन चासो नदिनु लज्जाको विषय बनेको उनले बताइन्। पारच्याङ स्वास्थ्य चौकीमा हाल ८ जना स्वास्थ्यकर्मी कार्यरत छन्। १५ दिनभित्र धारामा पानी आउँछ : खानेपानी उपभोक्ता समिति ६ महिनादेखि पानी नआएको स्वास्थ्य चौकीको धारामा अबको १५ दिनभित्र पानी पुर्याउने पारच्याङ खानेपानी उपभोक्ता समितिले दाबी गरेको छ। पारच्याङका हरेक घरमा र स्वास्थ्य चौकीमा खानेपानी वितरण गर्नका लागि काम भइरहेको हुँदा छिट्टै पानीको समस्या समाधान हुने पारच्याङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष ग्युर्मी लोप्चन तामाङले बताए। उनले भने, ‘हामीले खानेपानी योजना निर्माण गरिरहेका छौं, निर्माण सम्पन्न हुने बित्तिकै स्वास्थ्य चौकीको धारामा पानी पुग्छ।’

गाउँमा खानेपानीको व्यवस्थापनका लागि गाउँपालिकाले ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले बताइन्। उनले भनिन्, ‘गाउँपालिकाले पारच्याङ गाउँमा खानेपानीको व्यवस्थापन गर्न गाउँसभाबाट बजेट छुट्याएको छ। वैशाख मसान्तसम्ममा स्वास्थ्य चौकीमा खानेपानी व्यवस्था गछौं। यदि, कुनै समस्या आएमा ढिलोमा जेठको पहिलो सातासम्ममा धारामा पानी आउँछ। हामीले समयमै निर्माण सम्पन्न गर्न खानेपानी उपभोक्ता समितिसँग निरन्तर समन्वय गरिरहेका छौं।’ पारच्याङमा एसिएफ इन्टरनेसनल र मानेकोर सोसाइटी नेपालले यसअघि खानेपानी निर्माण गरे पनि सडक निर्माणका क्रममा पाइपहरुमा क्षति पुगेको थियो। नौकुण्ड गाउँपालिका ३ पारच्याङमा ८४ घरधुरी छन्।

To Top