खेलकुद

अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने धुर्मुस–सुन्तली फाउन्डेसनको घोषणा

  बिहीबार चैत्र १५ २०७४         रवीन्द्र राज ओझा
अन्तर्राष्ट्रियस्तरको  क्रिकेट रंगशाला बनाउने धुर्मुस–सुन्तली फाउन्डेसनको घोषणा

काठमाडौं । चर्चित हास्यकलाकार सीताराम कटेल (धुर्मुस)  र कुञ्जना घिमिरे (सुन्तली)ले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन् । यसअघि चार एकीकृत बस्ती निर्माण गरिसकेको धुर्मुस–सुन्तली फाउन्डेसनले सुविधा सम्पन्न क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेको हो ।

धुर्मुसले सरकारको समन्वयनकारी भूमिकामा रंगशाला बन्ने बताए । उनले भने, “सरकारले समन्यवनकारी भूमिका निर्वाह गर्ने गरी र आईसीसीले मान्यता दिने हिसाबमा रंगशाला बनाउने हाम्रो अठोट हो । यसको प्राविधिक कुरामा हामी छलफल गर्दै अघि बढ्छौं । सबैमा उत्साह र उमङ्ग छर्नका लागि पनि रंगशाला बनाउने घोषणा गरेका हौं ।” 

उनले थपे “धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माणको संयोजनमात्रै गर्ने हो । छुट्टै एउटा समितिअन्तर्गत निर्माणको प्रक्रिया अगाडि बढ्छ । अन्तर्राष्ट्रिय जगतमा क्रिकेट खेलाडीले शीर ठाडो हुने कार्य गरिरहेको अवस्थामा सबैको लागि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आवश्यकता हो ।”

धुर्मुसले रंगशाला बनाउन कुनै गाह्रो विषय नभएको भन्दै सरकारको सहयोग भने चाहिने बताए । “गाह्रो विषय भनेको मैले देखेकै छैन । नदेखेरै आँटेको हो । नमुना बस्ती बसाउँदा पनि हिजोको दिनमा सुरुमा सकिएला कि नसकिएला भन्ने थियो तर सम्भव भयो । यो पनि सकिन्छ । सरकारले यसलाई महत्त्वपूर्ण पाटोको रुपमा हेरिदिनुपऱ्यो । हामी त्यही आग्रह पनि गरिरहेका छौँ । अब सरकारले यसलाई फन्डिङ गर्न गाह्रो अप्ठ्यारो हुन्छ भने पब्लिकबाट अघि बढ्छौं किनभने पब्लिक जागिसकेको अवस्था छ,” उनले भने ।

यता धुर्मुसपत्नी सुन्तलीले पनि फाउन्डेसनको ड्रिम प्रोजेक्ट नमुना नेपाल परियोजना र क्रिकेट रंगशाला निर्माण परियोजना सँगै अघि बढ्ने बताएकी छन् । “नेपालभित्रको नेपाल ‘नमुना नेपाल’ निर्माण परियोजनाको सर्भेको काम सकेर डीपीआर र ईआईको प्रकृयामा अघि बढिरहेका बेला चौतर्फीरूपमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान अपरिहार्य रहेको र सोको अगुवाई धुर्मुस सुन्तलीले गर्नुपर्ने अनुरोध आइरहेको थियो,” उनले भनिन्, “क्रिकेटको स्तरोन्नति र खेलाडीको मनोवल बढाउन दुवै परियोजना अघि बढाउने निर्णयमा पुगेका छौँ ।” उनले यो अभियान धुर्मुस सुन्तली फाउन्डेसनको मात्रै नभई राष्ट्रकै अभियान भएको बताएकी छन् ।

फाउन्डेसनले यसअघि भूकम्पपीडितका लागि काभ्रे र सिन्धुपाल्चोकमा दुई बस्ती, महोत्तरी, बर्दिबासमा एकीकृत मुसहर बस्ती, रौतहटको सन्तपुरका बाढीपीडितलाई एकीकृत बस्ती निर्माण गरिसकेको छ भने ललितपुरको लेलेमा नमुना नेपाल परियोजनाको डीपीआर बनिरहेको छ ।

रवीन्द्र राज ओझा

महेन्द्रनगर सम्बादाता
To Top