स्वास्थ्य

होलीमा प्रयोग हुने रङले आँखामा गम्भीर समस्या उत्पन्न गर्छ सक्छ? कसरी जोगिने?

  बिहीबार फागुन १७ २०७४         डा रञ्जु खरेल, आँखारोग विशेषज्ञ
होलीमा प्रयोग हुने रङले आँखामा गम्भीर समस्या उत्पन्न गर्छ सक्छ? कसरी जोगिने?

आजकाल होलीमा विभिन्न थरीका रङको प्रयोग बढ्दो छ। होलीमा प्रयोग हुने यस्ता रङमा स्वास्थ्यलाई असर गर्ने रसायनहरु समेत हुन्छन्। त्यस्ता रसायनले आँखा बाहिरको एलर्जीदेखि आँखामा संक्रमणसम्मको समस्या उत्पन्न गराउँछ। 

रसायनयुक्त रङका कारण आँखाको नानीमा संक्रमण हुनुका साथै आँखाको पानी पनि धमिलो बनाउँछ। त्यसैले होलीमा रङ खेल्दा निकै ध्यान दिन आवश्यक छ। रङको गम्भीर असर बढेर दृष्टि गुम्नेसम्मको खतरा हुने भएकाले विशेषगरी आँखालाई जोगाउनुपर्छ।

रङ खेल्ने क्रममा जोगाउँदा जोगाउँदै पनि केही गरी आँखामा रङ परेमा तुरुन्तै सफा पानीले पखालिनहाल्नुपर्छ। आँखामा रङको मात्रा धेरै छ भने नजिकैको स्वास्थ्य संस्था र त्यसमा पनि आँखा उपचार हुने ठाउँमा जानुपर्छ।

होलीका नाममा आजभोलि मोबिलको प्रयोग धेरै मात्रामा हुन थालेको छ। होली खेल्ने बेलामा त्यो मोबिल आँखामा पर्‍यो भने ‘केमिकल इन्जुरी’ गराउँछ। आँखामा केमिकल इन्जुरी भयो भने आँखाको झिल्ली पातलिएर आँखा फुट्नेसम्मको डर हुन्छ। यस्तै, लोलाको जथाभावी प्रयोगले आँखामा लागेर आँखा फुट्न सक्ने पनि हुन्छ। 

होली हाम्रो संस्कृति हो, यसलाई जोगाउनुपर्छ र रमाइलो पनि गर्नुपर्छ। तर, होली खेल्ने नाममा स्वास्थ्यमा असर गर्नेगरी खेल्नु हुँदैन। स्वास्थ्यमा हानि नपुग्ने गरी टीका तथा गालामा रङ दलेर रमाइलो गर्न सकिन्छ।

To Top