खेलकुद

विश्वकप छनोटमा स्थान बनाउन नेपालले पायो १९५ रनको लक्ष्य

  बुधवार फागुन २ २०७४         रवीन्द्र राज ओझा
विश्वकप छनोटमा स्थान बनाउन नेपालले पायो १९५ रनको लक्ष्य

२ फागुन, काठमाडौं । डिभिजन टूमा क्यानडाले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ । यो खेल जितेमा नेपालले विश्वकप छनोटमा स्थान बनाउनेछ भने हारले बाहिरिरनेछ ।

टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले श्रीमान्थ विजेरत्नेको शतकको मदतमा ५० ओभरमा ८ विकेट गुमाएर १९४ रन बनायो ।

उसको सुरुवात समान्य रहृयो । श्रीमान्थ र रुविन्दु गुनशेकराले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरे ।

तर, पावर प्ले सकिए लगतै बलिङमा आएका बसन्त रेग्मीले दोस्रो बलमा नै गुनशेकराको विकेट लिए । थप २१ रन जोड्दा क्यानडाले थप २ विकेट गुमायो ।

लगातार श्रीमान्थले पारी सम्हाले । उनले चौथो विकेटका लागि एनएस धालिवालसँग २३ र पाँचौं विकेटका लागि हमजा तारिकसँग ४१ रनको साझेदारी गरे ।

अरु ब्याट्सम्यानले ठूलो स्कोर बनाउन नसकेपनि श्रीमान्थ टिकिरहे । नवौं विकेटका लागि एसएस ढिन्सासँग अविजित ३३ रनको शाझेदारी गरेका उनले शतक पुरा गरे ।
उनी १०३ रनमा नटआउट रहे ।

नेपालका बसन्त रेग्मीले ३ विकेट लिए भने सन्दिप लामिछानले २ विकेट लिए । घुँडाका चोटका कारण सन्दिपको बलिङ प्रभावित भएको थियो । उनले ९ ओभर मात्र बलिङ गरे ।
शरद भेषावकरले र करण केसीले एकएक विकेट लिए ।

रवीन्द्र राज ओझा

महेन्द्रनगर सम्बादाता
To Top