देश

दुर्घटना न्यूनिकरणका लागि राति ट्रेक्टर चलाउन नपाईने

  सोमवार माघ २९ २०७४         इमरान खान
दुर्घटना न्यूनिकरणका लागि राति ट्रेक्टर चलाउन नपाईने

इमरान खान
कपिलवस्तु २९ माघ । कपिलवस्तु जिल्लामा हालैका दिनहरुमा ट्रेक्टरहरुको कारणबाट राजमार्ग तथा अन्य मुख्य सडकहरुमा सडक दुर्घटना बढेको देखिएकोले कपिलबस्तु ट्राफिक प्रहरीले राति ७ बजेपछि बिहानसम्म राजमार्ग तथा मुख्य सडक खण्डमा ट्रेक्टर नचलाइ दिन आग्रह गरेको छ । ट्रेक्टरमा रातको समयमा चलाउन उपयुक्त लाइट नभएको, ट्रलिमा ब्रेक लाइट सिष्टम नभएकोले राती चलाउन चालकलाई समेत कठिनाई हुनाको साथै राति ट्रेक्टर गुड्दा खालि ट्रलिको आवाजले सडक आसपास बस्ने स्थानियवासीहरुलाई धेरै नै समस्यामा पारेको गुनासो आएपछि साँझ ७ बजे अगावै गन्तब्यमा पुग्न अनुरोध गरिएको जानकारी जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरुसिंगे कपिलवस्तुका प्रमुख प्र नि अमर बहादुर कार्कीले दिए ।

यो अभियान कपिलबस्तुमा मात्र नभइ तराईका अन्य छिमेकि जिल्लाहरुमा पनि शुरु भएको उनले बताए ।  केहि दिन अघिबाटै राति ७ बजेपछि ट्रेक्टर नचलाउन आग्रह गरिए पनि ट्रेक्टर चलाउनमा कमी नभए पछि कारवाहीमा कडाई गरिएको प्र नि कार्कीले बताए । आफ्नो सवारी साधनको अवस्था ठिक राख्न, ट्रेक्टरको ट्रलीमा पछाडि स्पष्ट नम्बर प्लेट र रेडिएम स्टिकर टाँस गर्न, खोलाजन्य सामग्री बोक्दा सडकमा पानी नचुहाउन, गिटि, बालुवा, ईटा आदि सडकमा नझार्न, लाइसेन्स भएका ब्यक्तिले मात्र सवारी चलाउन, सवारी साधनको कागजात दुरुस्त राख्न र ट्रेक्टरमा जडान गरिएको साउण्ड सिष्टम बक्स हटाई दुर्घटना न्यूनिकरणमा सहयोग गर्न सबै ब्यबसायी, चालक, सहचालक र सरोकारवाला सबैमा ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

To Top