स्वास्थ्य

भाइरल प्रभावित ४५८ जनाको उपचार, राेग पत्ता लगाउन नमूना संकलन

  शनिबार माघ ६ २०७४         लुअप
भाइरल प्रभावित ४५८ जनाको उपचार, राेग पत्ता लगाउन नमूना संकलन

सोलुखुम्बु, ६ माघ- महाकुलुङ गाउँपालिका वडा नं २ का भाइरल प्रभावित ४५८ जनाको उपचार गरिएको छ । 

प्राथमिक स्वास्थ्य केन्द्र सोताङका डा सन्डु शेर्पासहितको टोलीले आइतबारदेखि शुक्रबारसम्म गरी ४५८ जनाको उपचार गरेको हो । जिल्ला स्वास्थ्य कार्यालयबाट प्रभावित क्षेत्रमा पुगेको र्यापिड रेसपोन्स टिमका सम्पर्क व्यक्ति स्वास्थ्य सहायक कुमार केसीले बिरामीको अवस्था सुधारोन्मुख रहेको जानकारी दिनुभयो । अहिले घरघरमा पुगेर बिरामीको अवस्था बुझ्ने काम भइरहेको छ । 

शुरुमा बालबालिका बढी प्रभावित भएको भाइरलबाट अहिले अभिभावक बढी प्रभावित बनेका छन् । नब्बे प्रतिशत अभिभावक प्रभावित बनेको पाइएको स्वास्थ्य सहायक केसीले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै बिरामीमा देखिएको लक्षणका आधारमा उपचार भइरहेको छ ।” उक्त गाउँमा हरेक घरमा सुँगुर र कुखुरापालन हुने गरेको र केही दिनअघि सुँगर र कुखुरा बिरामी भएर मरेकाले त्यसबाट स्वाइनफ्लुको भाइरस फैलिएको आशंका गरिएको हो । बिरामीमा उच्च ज्वरो आउने, खोकी लाग्ने, झाडाबान्ता हुने र टाउको दुख्ने लक्षण देखिएको छ । पूरै टोलमा भाइरल फैलिएपछि स्थानीय नागरिकमा त्रास उत्पन्न भएको छ । 

पेल्माङमा फैलिएको भाइरल पत्ता लगाउन शुक्रबार नै नमूना संकलन गरिएको छ । आज नै काठमाडौँ पुर्याएर प्रयोगशाला जाँच गरेपछि भाइरसबारे पत्ता लाग्ने र स्वायनफ्लु भए÷नभएकोबारे यकीन गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा मिङ्मारछिरिङ शेर्पाले जानकारी दिनुभयो । 

To Top