अर्थ

नीति अभावले अलैंची खेती जटिल

  बिहीबार माघ ४ २०७४         लुअप
नीति अभावले अलैंची खेती जटिल

इलाम – नेपालमा वार्षिक साढे चार अर्ब रुपैयाँ भित्र्याइरहेको नगदेबाली अलैंचीसम्बन्धी बेग्लै नीति बन्न नसक्दा किसान र व्यवसायीले झन्झट बेहोर्नुपरिरहेको छ । अन्तर्राष्ट्रिय ब्रान्ड कार्यान्वयन र तेस्रो मुलुक निर्यातसम्बन्धी सम्झौता अभावले अलैंची उत्पादनदेखि बिक्रीसम्मै समस्या झेल्नुपरिरहेको किसान र व्यवसायी बताउँछन् ।

पूर्वी पहाडी जिल्लाको मुख्य नगदेबाली अलैंचीको उत्पादन, गुणस्तर, व्यापार र तेस्रो मुलुक निर्यातमा सरकारले सहयोग गर्नुपर्ने उनीहरूको भनाइ छ । बजारको सीमितता, मूल्यमा उतारचढाव, क्वारेन्टाइन अभाव र झन्झटिलो कर प्रणालीका कारण अलैंचीबाट आफूहरूले सोचेजति आम्दानी लिन नसकेको किसान र व्यवसायीको  भनाइ छ ।

नेपालमा अलैंचीको गुणस्तर मापन गर्ने प्रयोगशाला छैन । अलैंची प्रशोधनमा परम्परागत प्रविधि नै हाबी रहनु र निर्यातमा सरकारी अनुदान नहुनुले अलैंचीको बजार साँघुरो बनाइरहेको व्यवसायी बताउँछन् । अलैंची व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दीपक नेपालले अन्तर्राट्रिय व्यापारका लागि ब्रान्ड कार्यान्वयन नहुँदा अहिले नेपाली अलैंचीको पहिचान नभएको बताए । ‘ब्रान्ड नहुँदा निकासी र व्यापारमै समस्या त छैन तर ब्रान्ड कार्यान्वयन भए नेपाली अलैंचीमा गुणस्तर र एकरूपता हुने थियो,’ उनले भने, ‘अलैंचीको ट्रेडमार्क कार्यान्वयनको प्रक्रियामै रहेकाले अझै दुई वर्षपछि मात्रै प्रयोगमा आउन सक्ने देखिन्छ।’

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र महासंघको साझेदारीमा निर्माण भएको अलैंचीको लोगो अहिले नेपाली अलैंची निर्यात हुने भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्सको वाणिज्य विभागमा दर्ता भइसकेको उनले बताए । ‘जस्तोसुकै अलैंचीमा लोगो लगाउन मिल्दैन,’ उनले भने, ‘लोगोसहित बिक्री गर्ने गुणस्तरमा अलैंची पुर्याउन अझै समय लाग्छ ।’ महासंघका केन्द्रीय सदस्य मातृका घिमिरेले महासंघ अलैंचीको गुणस्तर सुधारमा लागेको बताए । ‘केही वर्षयता अलैंची गुणस्तरीय बनाउन हामीले पनि प्रयास गरिरहेका छौं,’ उनले भने, ‘निकासीमा देखिने अनेक झन्झट हटाउन सरकारको ध्यानाकर्षण गराएका छौं ।’
अलैंचीविज्ञ, व्यवसायी र किसानले अलैंचीको गुणस्तर कायम गर्न यसको खेतीबारे पाठ्यक्रम नै विकास गर्न मागसमेत गरेका छन् ।

उनीहरूले कलेजमा अन्य कृषिबाली, फूललगायतको पढाइ हुने गरेपनि अर्थतन्त्रको गतिलो मेरुदण्ड मानिने अलैंचीको पढाइमा कसैले चासो नदिनु विडम्बना भएको बताए । अलैंचीविज्ञ तेज थापाले उत्पादन सुधार्न सकेमात्रै यसको ग्रेडिङ र निर्यात उच्च बनाउन सकिने भन्दै अलैंचीलाई कलेजको पाठ्यक्रममा समेत राखिनुपर्ने बताए । ‘अलैंचीका लागि छुट्टै नीति र बोर्डसमेत आवश्यक देखिएको छ,’ उनले भने, ‘७० हजार किसानको मुख्य बाली रहेको अलैंचीको उत्पादन, गुणस्तर र बजारीकरणमा सहयोग आवश्यक छ ।’

उनले जलवायु परिवर्तनको असर, बजारप्रणाली विकास नहुनु, ग्रेडिङ नहुनु र न्यून बजार अनुसन्धानले अलैंची खेती समस्यामा परिरहेको बताए । ‘अहिलेसम्म भारत नै अलैंचीको एकल बजारजस्तो छ,’ उनले भने, ‘रोग–कीरा, जनावरको समस्या, न्यून प्राविधिक सेवा, कमसल बीऊ, वित्तीय पहुँचमा कठिनाईजस्ता चुनौती अलैंचीले खेपिरहेको छ ।’ अलैंची खेती विस्तार, प्राविधिक ज्ञान र बिरुवा उत्पादनमा सघाइरहेका सरकारी निकायले भने अलैंची खेतीप्रति किसान जागरुक हुँदै गएको जनाएका छन्

अलैंची विकास केन्द्रका प्रमुख पदम अधिकारीले २५ प्रतिशत छहारी र ७५ प्रतिशत खुला स्थानमा अलैंचीको बोट सप्रिने बताए । ‘धुवाँ र घाममा सुकाउँदा पनि अलैंचीको गुणस्तरमा फरक पर्छ,’ उनले भने, ‘खाडी मुलुकमा निर्यात हुने अलैंची धुवाँमा सुकाएपनि राम्रै मूल्यमा जान्छ । तर, युरोप पुर्याउने अलैंची धुवाँमा सुकाउनु हुँदैन ।’ उनले बीऊ र बिरुवाबाट भन्दा टिस्यु कल्चर गरेर तयार गरिएको बिरुवाको उत्पादन राम्रो हुने अनुभव पनि सुनाए ।

अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) र उन्नति परियोजनासँगको सहकार्यमा विश्व परिदृश्य मञ्चले आयोजना गरेको अन्तक्र्रियामा सहभागी जिल्ला कृषि विकास कार्यालयका अधिकारीहरुले अलैंचीको ब्रान्ड नभएरै यसले भाउ नपाएको बताए । उनले अलैंचीको विकासका लागि छुट्टै बोर्ड आवश्यक नपर्ने भन्दै किसान, व्यापारी र अहिलेकै सरकारी निकायले अलैंची विकासमा काम गर्न सक्ने बताए ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार नेपाल सबैभन्दा बढी अलैंची उत्पादन गर्ने देश हो । देशको १२ हजार चार सय ५८ हेक्टरमा पाँच हजार एक सय ६६ मेट्रिक टन अलैंची उत्पादन हुने गरेको छ । यसबाट वार्षिक चार अर्ब २४ करोड रुपैयाँ आम्दानी हुने केन्द्रले जनाएको छ । देशका ४२ जिल्लामा अलैंची उत्पादन हुन्छ भने कुल उत्पादनको ९४ प्रतिशत पूर्वी पहाडका सात जिल्ला (इलाम, पाँचथर, ताप्लेजुङ, संखुवासभा, धनकुटा, तेह«थुम र भोजपुर)मा हुन्छ । रोगका कारण केही वर्षअघि सबै पुरानो अलैंची मासिए पनि करिब आधा दशकयता किसानले नयाँ जातको अलैंची विस्तार गरेका छन् ।

To Top