खेलकुद

दृष्टिविहीन क्रिकेटरलाई प्लेन टिकट

  बुधवार माघ ३ २०७४         लुअप
दृष्टिविहीन क्रिकेटरलाई प्लेन टिकट

काठमाडौं : खर्च अभावमा पाँचैाँ दृष्टिविहीन विश्वकप क्रिकेट खेल्नका लागि बस र रेल हुँदै पाकिस्तान पुगेको नेपाली टोलीका लागि नेपाली क्रिकेट समर्थक समाज (एनसीएसएस)ले टिकटको व्यवस्था गरिदिएको छ। एनसीएसएसले सञ्चालन गरेको ‘जाँदा रेलमा आउँदा प्लेनमा’ नारासहितको अभियानबाट उठेको रकमले नेपाली टोलीका लागि टिकट काटिएको अध्यक्ष भानु सिग्देलले जानकारी दिए।

अध्यक्ष सिग्देलका अनुसार खेलाडी र अफिसियल गरी २२ जनाका लागि टिकट काटिएको छ। एनसीएसएसको अनुरोधमा ३० प्रतिशत सहुलियतमा फ्लाई दुबई एअरलाइन्सको टिकट काटिएको हो। त्यसका लागि तीन लाख १९ हजार खर्च भएको अध्यक्ष सिग्देलले जानकारी दिए। उनका अनुसार अभियानबाट मंगलबारसम्म ६ लाख ३२ हजार रकम उठेको छ। अभियानबाट उठेको बाँकी रकम खेलाडी र संघलाई हस्तान्तरण गरिने भएको छ।

खर्च अभावमा नेपाली टोली बस र रेलको यात्रा गर्दै चार दिनपछि पाकिस्तान पुगेको थियो। पाकिस्तान र दुबईमा आयोजना गरेको विश्वकपमा नेपाल एक खेल जित्दै घर फर्कने भएको छ। भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकासँग पराजित भएको नेपालले सोमबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा अस्टे«लियालाई पराजित गरेको थियो।

नेपालले आयोजक पाकिस्तान र बंगलादेशसँग पाकिस्तानमा खेलेको थियो भने भारत, श्रीलंका र अस्टे«लियासँग दुबईमा खेलेको थियो। प्रतियोगिताको दौरान बस्ने, खाने र पाकिस्तानबाट दुबईसम्म जान आयोजकको सहयोग पाएको नेपाली टोलीलाई दुबईबाट स्वदेश फर्कन फेरि खर्च अभाव थियो। एनसीएसएसको अभियानबाट प्लेन टिकट सम्भव भएपछि त्यसको समस्या समाधान भएको छ। नेपाली टोली प्रतियोगिता समाप्त भएपछि जनवरी २१ मा स्वदेश फर्कनेछ।

To Top