अर्थ

हाइटेक प्रविधिबाट तेब्बर आम्दानी

  मंगलवार माघ २ २०७४         गणेश पौडेल
हाइटेक प्रविधिबाट तेब्बर आम्दानी

पर्वत, माघ २ - पर्वतका एक मिहिनेती कृषकले आफैले तयार गरेको नयाँ प्रविधिबाट सामान्यभन्दा तीन गुणासम्म फाइदा लिनुभएको छ । तरकारी उत्पादनमा पछिल्लो समय नेपालमा भित्रिएको दुईवटा नयाँ प्रविधिको प्रयोग गरी पर्वतको कुश्माका लालबहादुर हरिजनले राम्रो फाइदा हात पार्न सफल हुनुभएको हो । 


नयाँ प्रविधिमा गरेको खेतीबाट उहाँले वार्षिक ४५ लाख रुपियाँभन्दा बढी आम्दानी गर्न सफल हुनुभएको हो । बिरुवालाई चाहिने खाद्य तत्व पानीमा मिलाएर विद्युतीय प्रणालीबाट तरकारी उत्पादन गर्ने प्रविधि ‘हाइड्रोपोनिक प्रविधि’ र आधुनिक प्रविधिको टनेल खेती ‘हाइटेक प्रविधि’ बाट उहाँले त्यती कमाउन सफल हुनुभएको हो । 

एक दशकदेखि व्यावसायिक कृषिमा लागेका हरिजनले हालै ‘हाइड्रोपोनिक प्रविधि’ को पनि सफल परीक्षण गर्नुभएको छ । मोदी–५ र कुश्मा–३ को सिमानामा पर्ने अम्बोटमा व्यावसायिक तरकारी खेतीमा लागेका हरिजनले गत असोजमा सुरु गरेको ‘हाइड्रोपोनिक प्रविधि’ को खेती सफल भएको हो ।

युवा पुस्ताका लागि लोकप्रिय प्रविधिका रूपमा रहेको यो प्रविधि पर्वतमा पहिलोपटक भित्रिएको हो । भाडामा लिएको १५ रोपनीमा १० लाख रुपियाँ लगानीबाट थालेको उहाँको फार्ममा १० वटा प्लास्टिक टनेल छन् । त्यसमा उहाँले मौसमी र बेमौसमी तरकारी फलाएर बजार पठाउने गर्नुभएको छ । 

हरिजनले दुईवटा फलामे स्ट्यान्डको सहारामा तीन मिटर लम्बाइ, तीन इन्च मोटाइका प्लास्टिक पाइपमा पानी भरेर प्लास्टिक डुम र सोलार प्यानलको सहयोगमा यस्तो प्रविधिको खेती गर्नुभएको छ । यहीँ चक्रीय प्रणालीका कारण पाइपभित्र लगाइएको तरकारी वृद्धि हुन्छ । सोलारले तातेको पानी सिँचाइ हुने हुँदा बिरुवा छोटो समयमा वृद्धि हुन्छ । माटोमा भन्दा ३० देखि ४० प्रतिशत छोटो समयमा फल्ने हरिजनले दाबी गर्नुभयो । एउटा स्ट्यान्डमा फलेको तरकारीले एक परिवारलाई खान पुग्ने बताइएको छ । १५ देखि २० हजार रुपियाँको लगानीमा तयार हुने यो प्रविधि एकपटक बनाइसकेपछि ३० वर्ष काम लाग्छ । 

त्यस्तै सामान्यभन्दा आधुनिक प्रविधियुक्त ‘हाइटेक टनेल’ मा उत्पादन बढ्ने देखेर सुरु गरेपछि उहाँले एकै सिजनमा अरूभन्दा तेब्बर आम्दानी लिन सफल भएको बताउनुहुन्छ । परीक्षणका रूपमा उहाँले समान क्षेत्रफलका दुई टनेलमा गत डेढ वर्षदेखि तरकारी फलाउन सफल हुनुभयो । पहिलो सिजनकै उत्पादनले टनेलको लगानी उठ्यो, उहाँले भन्नुभयो, सामान्यभन्दा लगानी चार गुणा बढी भए पनि त्यही अनुपातमा आम्दानी पाउँदा खुसी लागेको छ । 

टनेलभित्रको चौघेरामा लगाइएको अर्ध–पारदर्शी पातलो जालीका कारण बाहिरी रोग कीराले आक्रमण गर्ने समस्या हुँदैन । टनेलभित्र सिँचाइ गर्न सुविधा पुग्ने गरी प्रत्येक बोटको फेदमा जडान गरिएको सानो पाइपमा मात्रा मिलाइएको मल, पानी थोपा सिँचाइको माध्यमबाट सिञ्चित हुन्छ । 

हरिजनले गत वर्ष ३५ लाख रुपियाँ र यस वर्ष रु. ४५ लाख रुपियाँ आम्दानी गर्न सफल भएको बताउनुभयो । टनेलमा बाह्रैमास गोलभेँडा खेती, मौसम अनुसारका तरकारीसँगै उहाँको फार्ममा माछापालन, केरा खेती र कुखुरापालन व्यावसायवाट उहाँले उक्त आम्दानी गर्नुभएको हो । फार्ममा गोलभेँडासँगै काँक्रा, घिरौला, बोडी, सिमी, भिण्डी, खुर्सानी, साग, काउली, बन्दा लगायतका मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने गरिएको उहाँले बताउनुभयो । उहाँले एउटै गोलभेँडाको बोटबाट २० किलोसम्म उत्पादन गरेको जानकारी दिनुभयो । 

उत्पादित तरकारी सदरमुकाम कुश्मा बजार, डिमुवा, आम्बोट, गिज्यान र छिमेकी जिल्ला पोखरामा समेत बिक्री हुनेगरेको छ । उहाँको फार्मलाई जिल्ला कृषि विकास कार्यालयले २० लाख रुपियाँ आर्थिक सहयोग र प्राविधिक सहयोग गर्दैआएको वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले बताउनुभयो ।

To Top