खेलकुद

विश्वकप खेल्ने नेत्रहीन क्रिकेट टोलीलाई सहयोगको ओइरो

  शुक्रवार पौष २१ २०७४         लुअप
विश्वकप खेल्ने नेत्रहीन क्रिकेट टोलीलाई सहयोगको ओइरो

काठमाडौं, पुस २१ – जहाजको टिकट किन्ने पैसा नभएर नेत्रहीन विश्वकप क्रिकेट खेल्न रेलमार्फत पाकिस्तान गइरहेको नेपाली टोलीको लागि सहयोग संकलन भैरहेको छ ।

 

जहाजको टिकट किन्ने पैसा नभएपछि नेपाली टोली रेलमार्फत पाकिस्तान गएको खबर लुम्बिनी अनलाईन पत्रिकाप्रकाशन भएपछि सहयोग जुट्न थालेको हो ।

नेत्रहीन क्रिकेट टोलीको लागि नेपाल क्रिकेट समर्थक समाज एनसिएसएसले सहयोग संकलन गरिरहेको छ । १५ दिनको सहयोग संकलन अभियान थालेको एनसिएसएसले २४ घन्टा नबित्दै १ लाख १७ हजार रुपैयाँ नगद जम्मा गरेको छ । यस्तै १ लाख ९० हजार रुपैयाँको प्रतिवद्धता आएको छ ।

कप्तान परास खड्कासहितले जनही ५०–५० हजार दिने

नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले ५० हजार रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ । यस्तै खेलाडी अमृत भट्टराईले पनि ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । पूर्व खेलाडी पारस लोनियाले पनि ५० हजार रुपैयाँ सहयोगको घोषणा गर्नुभएको छ भने सञ्जिव पाण्डेले १० हजार सहयोग दिनुभएको छ । 

यस्तै १६ वर्षमुनिका खेलाडी प्रतिश जिसीकी आमाले अमेरिकाबाट १ सय अमेरिकी डलर दिने घोषणा गर्नुभएको छ । यस्तै रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त मल्लले ५ हजार, नुवाकोट क्रिकेट संघका अध्यक्ष दुर्गा पाठकले ५ हजार रुपैयाँ, खेलाडी सोनु तामाङ, सोमपाल कामी, अनिल साह, विनोद दास लगायतले पनि ५-५ हजार रुपैयाँका दरले सहयोग गरेका एनसिएसएसका प्रमुख भानु सिग्देलले जानकारी दिनुभयो । 

सोचेभन्दा धेरै सहयोग

सहयोग  संकलन गरिरहेको नेपाल क्रिकेट समर्थक समाज एनसिएसएसका प्रमुख भानु सिग्देलले आफूले अपेक्षा गरेभन्दा धेरै रकम संकलन भैरहेको जानकारी दिनुभयो ।

यो अभियानको राष्ट्रिय टोलीका कप्तान पारस खड्कालगायत सरकारी पदाधिकारीले पनि प्रशंसा गरेका सिग्देलले बताउनुभयो । नेत्रहीन क्रिकेटरलाई सहयोग गर्न चाहनेले ग्लोबल आइएमई बैंकको खाता नम्बर ०८०१०१०००१५८७ मा सहयोग जम्मा गर्न सक्ने एनसिएसएसले जनाएको छ । 

रेल रद्द भएपछि बस यात्रामा नेपाली टोली

नेपालमा क्रिकेटरलाई सहयोग जुटिरहँदा रेलबाट पाकिस्तान जाने तयारीमा रहेको टोलीले भने रेलको यात्रा समेत टरेको छ । मौसमका काराण बुधवार गोरखपुरबाट रेल नछुटेपछि नेपाली टोली राति २ बजे बसमार्फत नयाँ दिल्ली हिँडेको छ । 

टोली नयाँ  दिल्लीबाट अमृतसर जहाजमा र अृमतसरबाट बसमार्फत बागा बोर्डर हुँदै लाहोर पुग्ने तालिका रहेको व्यवस्थापक निरोज गिरीले जानकारी दिनुभयो ।

जहाजको टिकट होइन, खेलाडीलाई सहयोग

पाकिस्तान र दुवईमा नेत्रहीन एकदिवसीय विश्वकप खेल्ने नेपाली टोलीलाई जहाजमार्फत नेपाल ल्याउनको लागि पैसा संकलन भए पनि खेलाडीहरु रेलमै नेपाल फर्कने छन् ।

पाकिस्तानबाट फर्कनको लागि रेलको टिकट बुकिङ भैसकेकाले खेलाडी रेलमै नेपाल फर्कने नेपाली टोलीका व्यवस्थापक निरोज गिरीले जानकारी दिनुभयो । 

‘हामीले बुकिङ गरेको रेलको टिकट रद्द गर्दा लाखौं रुपैयाँ घाटा हुन्छ, हामी रेलमै नेपाल फर्कन्छौं’ व्यवस्थापक गिरीको भनाई उदृत गर्दै एनसिएसएसका प्रमुख सिग्देलले भन्नुभयो, ‘हाम्रो लागि उठेको सहयोग र रकम र नैतिक समर्थनले हामी उत्साहित भएका छौं, हाम्रा लागि पनि कोही रहेछ भन्ने भान भएको छ ।’

उठेको रकमले प्लेनको टिकट काटिदिने तयारी गरे पनि खेलाडी रेलमा फर्कने भएपछि उठेको रकम खेलाडीलाई नै प्रदान गरिने सिग्देलले जानकारी दिनुभयो । 

To Top