साहित्य

एकपटक पढ्नै पर्ने ३० उपन्यासहरु

  आइतवार मंसिर ३ २०७४         लुअप
एकपटक पढ्नै पर्ने ३० उपन्यासहरु

यी उपन्यासहरू मेरा नितान्त व्यक्तिगत रुचिले भरिएका छन् । यी मेरा टेस्टका उपन्यास हुन् । मलाई यी उपन्यासले केही न केही सिकाएका छन् । सिकेका कति कुरा मलाई थाहा छन्, कति कुरा थाहै नपाई मैले सिकेको छु, यो पनि मलाई थाहा छ ।

म उपन्यास पढ्दा पहिलो पन्नामै गम्भीर भएर पढ्न थाल्दिनँ । यो उपन्यासबाट यस्तो ज्ञान पाइएला, उस्तो सुक्ति भेटिएला भनेर पनि सोच्दिनँ । दिमागमा कुनै बोझ नदिई, घोडाको नाथ्रीमा बाँधेको डोरीझैँ कुनै पनि विचारले डोरिएर पढ्दिनँ । कथाहरूमा बग्दै जान्छु । जब पुस्तक पढिसक्छु, कहिलेकाहीं भयंकर प्रगतिशील लेखक हुँ भन्नेहरू अप्रगतिशील लाग्छन् भने अप्रगतिशील मानिएका लेखक सबैभन्दा प्रगतिशील । उपन्यासको अन्तिम पानासम्म पुग्दा लेखकका बारेमा मेरा केही धारणा बन्छन्, तिनमा म सधैँ दृढ रहन्छु । अर्को कुनै समाचोलकको समालोचना, पुस्तक समीक्षाजस्ता कुराले मेरो धारणालाई कत्ति पनि फरक पार्दैनन् ।

उपन्यास सिफारिस गर्दा म 'वार एन्ड पिस’, 'आमा’तिर लागिनँ । ती उपन्यास र ती कालखण्डका अन्य उपन्यास नपढ्ने को नै होला र ?

नेपाली वर्तमान उपन्यास लेखनीले म प्रभावित पनि छु तर सिफारिसै गर्नुपर्ने आवश्यकता देखिनँ । र, लेखिरहेकै समयमा लेखनीको उचित मूल्याङ्कन पनि हुँदैन । जसरी लक्ष्मीप्रसाद देवकोटाको समयमा उनलाई पागल भनिन्थ्यो, गोपालप्रसाद रिमाललाई बहुला, शंकर लामिछानेलाई चोर र भूपि शेरचनलाई तुकबन्दी कवि । एउटा कालखण्डको मूल्याङ्कन अर्को कालखण्डले गर्छ । र, मैले विभिन्न कालखण्डमा मूल्यांकन हुँदै आएका केही उपन्यास सिफारिस गरेको छु । यिनमा नपढेका कुनै नाम देख्नुभयो भने अवश्य पढ्नुहोला ।

१. लभ इन द टाइम अफ कोलेरा : गार्बियल गार्सिया मार्खेज
संसारमा सबैभन्दा बढी प्रेमकथाहरू लेखिन्छन् तर प्रेमकथा कसरी लेख्नुपर्छ यसले सिकाउँछ ।

२. अ हाउस फर मिस्टर विश्वास : भीएस नयपाल
हास्यरसले भरिएको उपन्यास अत्यन्त मिहिन वर्णनले भरिएको छ । पात्रले साइनबोर्ड लेख्दा अक्षरको खुट्टो कस्तो बनाउँथ्योसम्मको वर्णन गर्न नयपाल नै चाहिन्छ ।

३. द गुड अर्थ : पर्ल एस बक
एउटा किसानको संघर्षको कथा, जसले किसानप्रति सद्भाव जगाउँछ र संघर्ष गर्ने प्रेरणा दिन्छ ।

४. राग दरबारी : श्रीलाल शुक्ल
हास्य र व्यंग्यले भरिएको अद्भुत लेखन । हिन्दी उपन्यास लेखनको उच्च नमुना । जसलाई लेखक आफंैले पनि अर्को लेखनीद्वारा जित्न सकेनन् ।

५. कुरुकुरु स्वाह : मनोहरश्याम जोशी
चामत्कारिक भाषा र वर्णन । हास्यरसले ओतप्रोत । हिन्दी साहित्यको एक अद्भुत रचना ।

६. काफ्का अन द सोर : हारुकी मुराकामी
आधुनिक लेखनीको नमुना । कविहरू कुनै युवतीलाई सम्झनुपर्दा केश, आँखा, ओठको वर्णन गर्छन् तर मुराकामी स्तनको मुन्टा, योनीको आकारप्रकारतिर लाग्छन् ।

७. स्नो : ओरहान पामुक
वर्णनात्मक लेखनीको उच्च नमुना । प्राय: कविलाई सोधिने सामान्य प्रश्न 'तपाइर्ंको कविताको प्रेरणा के हो ?' को गम्भीर उत्तर हो, सम्पूर्ण उपन्यास ।

८. घामका पाइलाहरु : धच गोतामे
वीरगन्जमाथि लेखिएको सुन्दर रचना । भाषा र लालित्यले भरपूर । तराईको गर्मीझैँ उष्ण ।

९. सच अ लङ जर्नी : रोहिन्टन मिस्त्री
एउटा पारिवारिक कथा । तर, यसले एउटा फरक भारतको व्याख्या गर्छ ।

१०. उलार : नयनराज पाण्डे
सानो तर चोटिलो । एकै हिसावले हिँडिरहेको नेपाली उपन्यास परम्परामा अचानकै झट्का दिएको ।

११. द स्टोरी टेलर : मारियो भर्गास् लोसा
अर्को समुदायका विषयमा कसरी विश्वसनीय ढंगले लेख्न सकिन्छ भन्ने उदाहरण । पुस्तक लेखनमा रिसर्च गर्न सिकाउँछ ।

१२. द जोक : मिलान कुन्देरा
आकर्षक र बेपर्बाह लेखनी ।

१३. द काइट रनर : खालिद हुसैनी
सरल र काव्यिक शैली । सरल कुराको पनि गम्भीर लेखन ।

१४. द क्याचर इन द रे : जेडी सेलिन्गर
चलिआएको भाषा, शैली र नायकत्वलाई यसले बेवास्ता गरेको थियो ।

१५. द गे्रट ग्यास्बी : एफ. स्कट फिजर
यसको विषयवस्तु र यसमा अन्तर्निहित प्रहार अहिलेको नेपाली समाजसित मेल खान्छ ।

१६. दी वल्र्ड म्यान एन्ड द सी : अर्नेस्ट हेमिङ्बे
सफलताका सूत्र सिकाउने अहिलेका बजारु कितावभन्दा फरक ढंगले यसले संघर्ष गरिरहन प्रेरणा दिन्छ ।

१७. डिस्गे्रस : जे एम कोइजी
आत्मसंघर्षको उच्चतम नमुना । किन कोइजीले दुईपल्ट बुकर र एकपल्ट नोबेल पुरस्कार पाए, यसको उत्तर ।

१८. कितने पाकिस्तान : कमलेश्वर
हिन्दी साहित्यको उत्कृष्ट नमुना । एकदमै फरक कथा शैली ।

१९. लाइफ अफ् पाई : यान मार्टेल
बाघ र मानिसको मित्रताको अनौठो कथा । लोभलाग्दो काल्पनिक उडान ।

२०. एनिमल फार्म : जर्ज अरवेल
शक्तिशाली राजनीतिक व्यंग्य । हामी पनि अहिले सायद एनिमल फार्ममै छौं ।

२१. मिडनाइट चिल्र्डेन : सलमान रुस्दी
अद्भुत वणर्ात्मक शैली । एउटा लामो नाकको अनेकौं पन्नासम्म वर्णन गर्न सक्ने सामथ्र्य रुस्दीसित मात्रै छ ।

२२. जाहिर : पाउलो कोएलो
जसरी पात्रका सोचहरू फेरिंदै जान्छन्, त्यसरी नै पात्रसँगसँगै पाठकको सोच फेरिँदै जान्छ । कजाकिस्तानका मरुभूमिको अद्भुत वर्णन ।

२३. थिङ्स फल अ पार्ट : चिनुवा अचिवे
अमेरिका अमेरिका भनेर कविता लेखिरहने नेपाली कविहरूले यो पुस्तक पढे थाहा पाउने थिए, आफूमाथि भएको हस्तक्षेपको विरोध साहित्यमा कसरी गर्नुपर्छ ।

२४. अविरल बग्दछ इद्रावती : रमेश बिकल
एकपल्ट पढिसेकपछि पात्रहरूलाई चाहेर पनि बिर्सिन सकिंदैन ।

२५. हाफ अफ अ एल्लो सन् : चिमामान्डा अदिची
एउटा परिवारको कथा पनि कति महत्त्वपूर्ण भएर सामाजिक दस्ताबेज बन्छ भन्ने उदाहरण । नेपाली नारी लेखकले पढ्नुपर्ने र सिक्नुपर्ने धेरै कुरा यसमा छन् ।

२६. द बुक थिफ : मार्कस जुसक
पुस्तकसितको प्रेममा परेकी एक किशोरीको कथा । संकटमा कथाहरू कसरी काम लाग्छन् ? यसको उदाहरण । पुस्तक लेख्दा अक्षरहरू कसरी फारो गर्नुपर्छ यसले सिकाउँछ ।

२७. बिलभेड : टोनी मरिसन
मन्त्रमुग्ध लेखनी । सायद, यस्तो किताव मरिसनबाहेक अरूले लेख्न सक्दैन ।

२८. बाबु, आमा र छोरा : बीपी कोइराला
एकहोरो, एकै तरिकाले कथा भनिरहेको समयमा कोइरालाले आकर्षक कथा वाचन शैलीको निर्माण गरेका थिए ।

२९ कट्टेल सरको चोटपटक : धु्रवचन्द्र गौतम
यो उचाइको लेखनी अन्य नेपाली लेखक त के धु्रवचन्द्र गौतम स्वयंले पनि फेरि पाउन सकेनन् ।

३० सर्पदंश : तारणीप्रसाद कोइराला
बालशुलभतालाई कोइरालाले अत्यन्त बोल्ड शैलीमा लेखेका छन् । बालमनोविज्ञानको उच्चतम नमुना ।

शाभार : Buddhisagar

 

To Top